प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाएर देखाउन दिए चुनौति


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिनुभएको छ । एमाले अध्यक्ष समेत रहनुभएको ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गर्नुभयो ।

अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाटे मुलगेटबाट फेरि पस्छ । हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौं ।’

एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको बताउनु् भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो गन्तव्य सत्ता होइन । हाम्रो गन्तव्य देशको विकास हो, जनताको समस्या साधान गर्दै अघि बढ्ने कुरा हो । हामीले निर्धारित गरेका लक्ष्यहरु कृषिको आधुनिकिकरण हो । रोजगारीका अवसरहरू सिर्जना गरेर अगाडि जाने कुरा हो । यस देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ र ?’उहाँले भन्नुभयो ।

ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपालसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताउनु भयो ।  उहाँले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ ।


प्रकाशित मिति : २०७७ फाल्गुन २९, शनिबार

धेरै पढिएको

ताजा समाचार