हामी चाहिँ कहाँ सहि छौ ?


अरुतिर औंला तेर्साएर गल्तिको सुचि तयार पार्नु भनेको आफूभित्रको हजार गल्ती लुकाउने अचम्मको कला हो।हामी धारा प्रवाह प्रवचन दिन सक्छौ।तर आफै भित्र सुधारका प्रयास गर्दैनौं । यहाँ सबै गलत म मात्र ठिक भन्ने सोचबाट ग्रसित व्यक्तिहरुबाट बनेको यो समाजमा परिबर्तनको अपेक्षा राख्नु भनेको खोला उल्टो दिशातिर फर्के हुन्थ्यो भन्ने सोच राखे जस्तो हो।अहिले इन्टरनेटको पहुच भएकोले त झन सामाजिक सन्जालमा नेताको भुमिकामा आदर्श कुरा गर्न सार्है नंै सजिलो भएको छ।हरेक व्यक्ति आदर्श छन तिनका कुरा आदर्श छन तर जहाँ तिनको आदर्श प्रदर्शन गर्नुपर्ने हो त्यहाँ उनीहरुको वास्तविक सस्तो आदर्श छताछुल्ल हुनेगर्छ ।त्यति मात्रमा हाम्रो माहानता सिमित कहाँ रह्यो र एउटै अनुहारलाई पटक पटक शक्तिमा पुर्याउने काममा विश्वरेकर्ड नै कायम गरेका छौं । बर्तमान अवस्थाको कुरा गर्ने हो भने सामाजिक सन्जालको विभिन्न माध्यमबाट अहिलेको राजनैतिक घटनालार्इ विभिन्न व्यक्तिले आ आफ्नो तरिकाले टिप्पणी गर्ने होड नै चलेको छ।

कुनै न कुनै व्यक्ति कुनै न कुनै समूह या झुन्डका हिमायती छन।तिनीहरुका पनि त्यस झुन्डभित्र भगवानहरु छन।मेरो भगवान अव्वल छन भन्ने दाबी सबैको छ किनकि उनिहरुको मस्तिष्क नै तिनै भगवानको रिमोटबाट चल्ने गर्छ ।स्वयमको सहि र गलत सोच्न सक्ने शक्ति पुर्णरुपमा नस्ट भइसकेको छ।हाम्रो समाज नै कान नछामेर कागको पछाडी दौडने स्कुलिङबाट आएको छ। नेता उत्पादन गर्ने मेशिन त हामी बन्यौ तर त्यहि नेतालाई खबरदारी गर्ने हैसियत बनाउन सकेनौं ।
०४६सालभन्दा अगाडीको राजनैतिक घटनार त्यतिखेरको ब्यबस्थासंग म त्यति परिचित छैन।मैले सुनेर पढेको आधारमा भन्नूपर्दा त्यतिखेरको राज्यव्यवस्था राजा र तिनको हिमायतीको नियन्त्रणमा थियो।जनताको आवाजले खासै अर्थ राख्दैन थियो रे या भनौ उनिहरुको आवाज सुस्केरा जस्तै थियो।तर ०४६सालपछि व्यवस्थामा त परिवर्तन आयो साइकल चढ्नेले पजेरो चढ्ने अवस्था पनि बन्यो तर नागरिक भने उही हार गुहार रोदन गुनासो मै सिमित रहे।मैले माथि नै भने जस्तो अरुको गल्तीको सुची बनाउन त हामी माहिर भयौ तर त्यही गल्तीको कारक हामी हौ भन्ने यथार्तको हेक्काचाहिँ हामीले राख्न सकेनौ।

०६२–०६३को आन्दोलनले त झन देशमा एक राजा बिस्थापित गरेर सयौं राजालाई स्थापित गरिदियो।हामीले नेताहरुप्रति जति आक्रोश सामाजिक सन्जाल चियापसल र भट्टिमा पोख्ने गर्छौ त्यस्को पचास प्रतिशत पनि बिबेक मतदान केन्द्रको मत पेटिकामा मतखसाल्ने बेलामा गरेको भए आजको नेपाल हामीले सोचेजस्तो हुन्थ्यो।निर्मला पन्तले न्याय पाउने थिइन। कुलमान घिसिङ पुनःनियुक्त हुनसक्थे।डा. गोविन्द केसीको माग सम्बोधन हुन सक्थ्यो।जेल भ्रस्टाचारीले भरिएको हुन्थ्यो।

जुम्ला हुम्ला रुकुम रोल्पाजस्तो दुर्गम ठाउँमा उच्चकोटिका अस्पताल र स्कुल निर्माण हुन सक्थे।समग्रमा भन्नूपर्दा राम्रा व्यक्ति नीतिनिर्माणमा हुने थियो भने राम्रा काम हाम्रा वरिपरि हुने थिए। हाम्रा अगाडि यस्ता कयौ मौकाहरु आए जस्लाइ सदुपयोग गरेर राम्रा अनुहार यो देशलाई दिन सक्थ्यौ।बिडम्बना हामी त अनुहार होइन चिन्हमा अभ्यस्त भएका छौ।असल प्रसाद मैदानमा छ कि फटाहा प्रसाद छ त्यससंग हामीलाइ केही सरोकार थिएन।हामी हिप्टोमाइज व्यक्ति जस्तै एकोहोरिएर चुनाव चिन्हको पछि लागिरहयौ।जस्को उपज मौरिले सधै आफैलार्इ टोकाइ रहयौं मह अरुले नै चाटी रहयो।
बिगत २ बर्ष देखि नेपाललगायत विश्वको भिड महामारीसंग लडिरहेको छ।अन्य मुलुकले देश र जनतालाई कसरी यो महामारीबाट मुक्त गराउन सकिन्छ भनेर विभिन्न खोज र अनुसन्धानका साथै राहत प्याकेज उपलब्ध गराएर केही हदसम्म भए पनि यो महामारीको पिडामा मल्हम लगाएको समाचार र विभिन्न मिडियामार्फत सुनेका हेरेका छौ तर हाम्रो भगवानहरु आ आफ्नो सिंहासन कसरी बचाउने भन्ने होडमा लागि रहे।म यी भगवानलार्इ केही भन्ने पक्षमा छैन।किनकी यिनिहरु गुगलबाट डाउनलोड गरिएका पनि हैनन बंशजको आधारमा भगवान बनेका पनि होइनन।यिनको उत्पती हाम्रै बिबेकहिनताको उपज हो।

एतिखेर देशको भिडको दोस्रोलहरको चपेटामा छ देश ठप्प छ तर राजनिती घिनलाग्दो भएपनि चलायमान छ।सबै भगवानको आ आफ्नै दावी छ आ आफ्नै शक्ति प्रदर्शनको होड छ हामी तयार छौ फेरि मदारीको बन्दर बन्न हामी डम्मरुको आवाज पर्खिरहेकाछौ।हामी सबै कुनै न कुनै समुहमा बिभाजित छौ कुन दिन कुन समुहका मदारीले डम्मरु बजाउछन हामी त्यही आवाज सुनेर बिबेक शून्य भएर त्यतैतिर दौडन्छौ।त्यसैले म भन्ने गर्छु यो मेरो देश नर्कबासी बस्ने स्वर्ग हो। यो मेरो देश स्वर्गमा हुने सबै भौतिक र प्राकृतिक सम्पदाले परिपुर्ण छ तर हामी नर्कका लागि योग्य छौ।कागती रोपेर सुन्तला र करेला रोपेर काक्रोको आश गर्ने हाम्रो परम्परा नै बनि सकेको छ।हामी अपराधी हौ यो देशको हामिले अपराध गरेका छौ।बोलिमा हाम्रो आदर्श छ ब्यबहारमा हामी गरिव छौ।

भ्रस्टाचारी जेलबाट छुट्दा बिजय र्याली गर्छौ कसैको इशारामा हाम्रै पशिनाबाट तिरिएको करबाट निर्मित भौतिक संरचना भत्काउछौ।बिध्याको मन्दिरमा राजनितिको नाङ्गो नाच देखाउछौ।अनि हामी फेरि भन्ने गर्छौ सबै चोर हुन सबै फटाहा हुन।कसरी बिर्सन्छौ फेरि यो त हाम्रै बिबेकका उपज हुन। राम्ररी सोचौ त यी सबै फटाहा र चोर हुन भने हामी चाहिँ कहाँ सहि छौ ?

उमेश कुमार भट्टराई


प्रकाशित मिति : २०७८ जेष्ठ १३, बिहीबार

धेरै पढिएको

ताजा समाचार