भारतीय सीमावर्ती क्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न संयुक्त विद्यार्थी संगठनको माग


संयुक्त विद्यार्थी संगठनले महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर एसएसबीले दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरेको छ।

कांँग्रेस, माओवादी, जसपा, एमाले र जनमोर्चाका विद्यार्थी संगठनले घटनाको विरोध गर्दै सीमा क्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त विद्यार्थी संगठनले शनिबार बिहान ज्ञापनपत्र बुझाएको हो। संयुक्त विद्यार्थी संगठनका पाँच नेताले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, दार्चुलाको व्यास गाउँपालिका वडा २ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन्।

संयुक्त विद्यार्थी संगठन भारतीय आपराधिक कार्यको विरोध गर्दै घटनाको छानबिन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं।’

ज्ञापनपत्रमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु ( क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल ( छैटौं) का अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन्।

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए। एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ।

चारबुँदे ज्ञापन पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, गिरफ्तार गर्ने र धम्क्याउने कार्य गर्दा शैक्षिक वातावरण बिथोलिएको भन्दै विद्यार्थीले राखेका जायज माग पूरा गरी परीक्षाका गतिविधि अघि बढाउन माग गरिएको छ।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार रोक्नका लागि उपकुलपतिलाई बर्खास्त गर्न तथा विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने कार्य बन्द गर्न पन विद्यार्थी संगठनले माग गरेका छन्।


प्रकाशित मिति : २०७८ श्रावण १६, शनिबार

धेरै पढिएको

ताजा समाचार