नेपालले यू-१९ विश्वकप खेल्न नपाउने


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेसँगै नेपालले यू-१९ विश्वकप खेल्न नपाउने भएको छ । आईसीसीले कोरोना महामारीका कारण एसिया छनोट रद्द गरिएको जनाएको हो ।

यसै सेप्टेम्बरमा हुने भनिएको एसिया छनोट कोरोना कारण रद्द भएको हो । कोभिडको कारण देखाउँदै आईसीसीले एसिया, अमेरिका र इएपीए छनोट रद्द गरेको छ । यू-१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटका आधारमा एसिया यू-१९ छनोटबाट यूएईले सिधै यू-१९ विश्वकपमा स्थान बनाएको छ ।

अमेरिका छनोटतर्फबाट क्यानडा र इएपीए छनोटबाट पपुपा न्युगिनीले २०२२ मा हुने यू-१९ विश्वकपमा खेल्ने भएका छन् । आईसीसीले पछिल्ला पाँच यू-१९ विश्वकप छनोटको प्रदर्शनका आधारमा यी टोलीहरूलाई सिधै मौका दिएको जनाएको छ ।

एसिया छनोटमा नेपालसहित यूएई, कुवेत, मलेसिया, सिंगापुर र ओमानले प्रतिस्पर्धा गर्ने तय भएको थियो । पछिल्ला पाँच संस्करणमा यूएई र नेपालले दुई–दुई पटक विश्वकपमा सहभागिता जनाएका थिए । नेपाल २०१३ छनोटमा यूएईसँग सेमिफाइनलमा पराजित भएको थियो । अन्तिम पटक नेपाललाई एक रनले हराउँदै यूएई च्याम्पियन बनेको थियो ।

२०१९ मा मलेसियामा भएको यू-१९ विश्वकप एसिया छनोटमा यूएई पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगिता यूएईसँग वर्षाका कारण डकवर्थ लेबिस पद्धतिका आधारमा एक रनले पराजित भएपछि दोस्रो स्थानमा रहँदै बाहिरिएको थियो । उक्त एक रनको हार २०२२ को विश्वकपमा पनि बाधक बन्यो ।

नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो ।


प्रकाशित मिति : २०७८ भाद्र ११, शुक्रबार

धेरै पढिएको

ताजा समाचार