देशको समृद्धि र स्थायित्वका लागि माओवादी पहिलो पार्टी बन्नुपर्छ : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र देशको पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम नहुने दाबी गर्नुभएको छ । काठमाडौंको जोरपाटीमा सर्लाही–काठमाडौं समन्वय समितिले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘माओवादी एक नम्बरको पार्टी नभएसम्म राजनीतिक स्थायित्व हुँदैन । देशको समृद्धि, विकास र स्थायित्व हुँदैन । पछिल्लो एक दशकले त्यो पुष्टि गरिसक्यो ।’

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगोसँग खेल्न नहुने भन्दै कटाक्ष पनि गर्नुभयो । उहाँले आफूले पुनःस्थापित संसद्मा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गर्नुभयो । ‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौ, सावधानी अपनाऊ भनेर ओलीलाई संसद्मै भनेको हो’, उहाँले भन्नुभयो, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान् ।’

उहाँले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने बताउनुभयो । ‘अब एक नम्बर प्रदेशको पनि सरकार ढल्दैछ केही दिनमा’, उहाँले भन्नुभयो, ‘ओलीले आगोसँग खेलेर गरेको गल्तीको परिणाम आउँदैछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा प्रचण्डले गत साउन ३ गते माओवादी आगो भएको उल्लेख गर्दै त्यससँग नखेल्न ओलीलाई चेतावनी दिनुभएको थियो । दाहालले सम्बोधनका क्रममा देउवा नेतृत्वको सरकार अब विस्तार हुने पनि दाबी गर्नुभएको छ । ‘भर्खर सरकार विस्तारको कुरा भएको छ । भोलि पनि बसेर हामी ठोस कुरा गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘अबको सरकारले मधेसको पनि विकास हुने गतिमा काम गर्नेछ ।’

केपी ओलीलाई प्रधानमन्त्री बनाएर सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धि झण्डै जोखिममा पुगेको उहाँको भनाइ थियो । प्रचण्डले भन्नुभयो, ‘हामीले पार्टी एकता गरेर ओलीलाई प्रधानमन्त्री बनायौँ । तर, उनले झण्डै संघीयता खारेज गर्नेसम्मको कदम चाले । मधेसी जनताको पहिचान र अधिकारलाई सरकारमा पुगेर विरोधीहरूले कुल्चिने प्रयास पनि गरे ।’ लाखौँ जनतालाई सडकमा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको प्रयासलाई आफूहरूले विफल बनाएको उहाँले बताउनुभयो । मधेसी जनताको मुक्ति, हक, अधिकारको लागि लडिरहने पार्टी भनेको माओवादी नै भएको उहाँले दाबी गर्नुभयो ।

सरकारलाई पूर्णता दिनको लागि मंगलबारको बैठकले ठोस निष्कर्ष दिने उहाँले बताउनुभयो । तल्लो तहसम्म भ्रम चिर्दै पार्टीको गतिविधिलाई तीव्रता दिन उहाँले नेता कार्यकर्तालाई निर्देश गर्नुभयो ।


प्रकाशित मिति : २०७८ भाद्र १५, मंगलवार

धेरै पढिएको

ताजा समाचार