महिनाकै १ खर्ब नाघ्यो रेमिट्यान्स, पाँच महिनामा भित्रियो ४ खर्ब ८० अर्ब


काठमाडौ, नेपालमा रेमिट्यान्स आय मासिक १ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

​मंसिर महिनामा मात्रै १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ।

यस्तो तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा नेपालमा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स आय गत आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको तुलनामा २३ प्रतिशतले बढेको छ ।

गत वर्षको सो अवधिमा यस्तो रेमिट्यान्स आय ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको थियो । रेमिट्यान्स आय औसतमै मासिक एक अर्ब रुपैयाँ पुगेको हो । पछिल्ला पाँच महिनाको तथ्यांकअनुसार औसत मासिक ९६ अर्ब १० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

पछिल्लो ५ महिनाको रेमिट्यान्स आय

महिना रेमिट्यान्स आय (रुपैयाँमा )

मंसिर : १ खर्ब २ अर्ब ४६ करोड

कात्तिक : १ खर्ब ३८ अर्ब ७२ करोड

असोज : ८३ अर्ब ९५ करोड

भदौ : ७९ अर्ब ४१ करोड

साउन : ७५ अर्ब ९६ करोड

कुल ४ खर्ब ८० अर्ब ५० करोड

तथ्यांक स्रोतः नेपाल राष्ट्र बैंक


प्रकाशित मिति : २०७९ पुष ३०, शनिबार १०:४७

धेरै पढिएको

ताजा समाचार