यो बर्ष धान उत्पादन ७ प्रतिशतले बढ्ने अनुमान


चालु आर्थिक वर्ष २०७९/८० मा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन वृद्धि हुने देखिएको हो ।

गत वर्ष लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानवालीमा क्षति भएकाले धान उत्पादन घटेको थियो । यो वर्ष त्यस्तो क्षति नभएकाले पनि उत्पादनमा वृद्धि हुने अनुमान छ ।

गत वर्षकोभन्दा यो वर्ष तीन लाख ५५ हजार ८४७ मेट्रिकटन बढी धान उत्पादन हुने मन्त्रालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालयको छ ।

विशेषगरी तराईका जिल्लाहरूमा रासायनिक मलको उपलब्धता भएको, उन्नत बीउको प्रयोग वृद्धि भएको र स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँचमा वृद्धि भएका कारण पनि धान उत्पादनमा वृद्धि हुने देखिएको छ ।

गत वर्ष धान उत्पादन ८.७४ प्रतिशतले कमी आएको थियो । पछिल्लो ७ वर्षको धान उत्पादनको वृद्धि हेर्दा २०७५/७६ मा ८.८९ प्रतितले वृद्धि भएको थियो ।


प्रकाशित मिति : २०७९ पुष १६, शनिबार ०६:२६

धेरै पढिएको

ताजा समाचार