काठमाडौ, न्याय माग गर्दै विभिन्न जिल्लाबाट केन्द्रीय राजधानी (काठमाडौँ) आएका मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आज तेस्रो दिन पनि वार्ता जारी रहने भएको छ।
मिटरब्याजपीडितको वार्ता टोलीका सदस्य नीर्ग नवीनका अनुसार आजको वार्ता पनि बिहान ११ बजेपछि गृह मन्त्रालयमै हुनेछ।
मिटरब्याजपीडित र सरकारी टोलीबीच आइतबारदेखि लगातार वार्ता भइरहेको छ। तर, यो वार्ताले परिणाम दिने सम्भावना नरहेको उनको भनाइ छ।
‘हाम्रो पहिलो र मुख्य माग साहु महाजनसँग भएका फर्जी लिखत क्याबिनेटले अवैध घोषणा गर्नुपर्छ भन्ने हो, तर अहिलेको वार्ता टोली निजामती स्तरको छ, जसले हाम्रो माग बुझ्दैन, हामीले राजनीतिक डिसिजन खोजेका हौँ, जुन अहिलेको वार्ता टोलीबाट सम्भव छैन’, उनले भने, ‘तर पनि सरकारले नै औपचारिक रूपमा गठन गरेको वार्ता टोलीसँग संवाद जारी राखौँ भनेर हामी सहभागी भइरहेका छौँ।’
वार्तासँगै आजदेखि शान्ति वाटिकामा धर्ना पनि सुरु गरिने जानकारी नवीनले दिए। उनका अनुसार वैशाख १ गते तराईवासीको चाड परेकाले घर फर्किरहेकाले अहिले काठमाडौँमा २ सय जना मात्र बाँकी रहेको उनले बताए।
‘हामी जम्मा ८८० जना काठमाडौँ आएका थियौँ’, उनले भने, ‘वैशाख १ गते उहाँहरू (तराईवासी) को चाड पर्ने रहेछ, त्यसका लागि उहाँहरू अहिलेलाई घर जानुभएको छ, अहिले हामी २ सय जना मात्र बाँकी छौँ।’
उनका अनुसार आज थप पीडितहरू पनि घर जानेछन्। ‘धर्नामा हामी सय जना बस्छौँ’, उनले भने।
तर, अहिले चाडका लागि घर फर्किएकाहरू वैशाख ४ गते पुनः काठमाडौँ आउने र हजार जनाजति भेला भइने उनको भनाइ छ।
‘माग पूरा नहुँदासम्म हाम्रो संघर्ष जारी रहनेछ’, उनले भने। काठमाडौँ आएको मिटरब्याजपीडित यो टोली दोस्रो हो। यसअघि महोत्तरीबाट ११ दिन हिँडेर मिटरब्याजी पीडितको टोली आएको थियो।
उक्त टोली भने सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको छ। त्यो सहमति फितलो भएको भन्दै दोस्रो टोली काठमाडौँमा वार्तासँगै संघर्ष गरिरहेको छ।