सिक्किमको हिमपहिरोमा परेर ३ जना नेपालीको ज्यान गयो, ३ जनाको उपचार हुँदै


एजेन्सी, भारतको सिक्किममा मङ्गलबार हिमपहिरोमा परेर तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

हिम पहिरोमा परेर ७ जनाको ज्यान गएकोमा ३ जना नेपाली रहेको ग्यानटकका जिल्ला अधिकारीले पुष्टि गरेका हुन् ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको हो ।

नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्। तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ ।

यस्तै, नेपालकै गीता सापकोटा, ज्योती गुरुङ् र रमेश खनालको घाइते अवस्थामा उपचार भइरहेको छ ।

हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।


प्रकाशित मिति : २०७९ चैत्र २२, बुधबार ०९:५९

धेरै पढिएको

ताजा समाचार