कोभिड जोखिम बढ्यो, सजग रहन सरकारको आग्रह


गृह मन्त्रालयले कोभिड–१९ को संक्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा संक्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ ।
मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा शनिबार जारी विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।
‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ७ नेपालमा पुष्टि भएको छैन’
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हँुदै गएको र प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन जरुरी छ ।
इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मस तथा अङ्ग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न÷गराउन साथै कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरुले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउनमन्त्रालयले अपिल गरेको छ ।
मास्क लगाउन आग्रह
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति : २०७९ पुष १०, आईतवार ०३:४१

धेरै पढिएको

ताजा समाचार