राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर दाहाललाई विश्वासको मत दियौं : नेता कोइराला


विराटनगर, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । ‘म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ उनले भने, ‘‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’ नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । ‘ हामीले आफ्नो उम्मेदवार दिंदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने । आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताए ।


प्रकाशित मिति : २०७९ पुष २८, बिहीबार १६:५१

धेरै पढिएको

ताजा समाचार