काठमाडौं, नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल आज शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दैछन् ।
शुक्रवार २ बजे नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए ।
तात्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उनले झन चर्को विरोध गरे । यस्तै चितवन महाधिवेशनमा पनि ओलीको निर्देशन विपरीत भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
गएको मङ्सिर ४ गते भएको चुनावमा एमालेले टिकट नदिएपछि उनले एमाले छाडेर माओवादीको समर्थनमा रुपन्देहीबाट उम्मेदवारी दिए ।
तर, पराजित भए । भुसालले अब एकीकृत समाजवादीमा रहेर ठूला कम्युनिष्ट पार्टीलाई एक बनाउन पहल गर्ने बताएका छन् ।