नेपालको राजनीति एकले अर्कोलाई छक्याउने र ढाल्ने कुरामा मात्रै केन्द्रित भयो : महामन्त्री थापा


काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति ३ जना पूर्वप्रधानमन्त्रीहरूको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उनले पूर्वप्रधानमन्त्रीहरूबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २र४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराए ।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गरे ।

महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरूले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे ।

उनले भने, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडा जस्तो भयो । कुनचाहीँ भूतपूर्व प्रधानमन्त्रीले कुनचाहीँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आइतबार फलानोले झुकाउनु भएको थियो ।

सोमबार अर्कोले ठहरै पार्नुभयो । अहिले तपाईहरू सबैको मनमा के छ ?  कुनचाहीँ भूतपूर्वले कुन चाहीँ भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याइराखेको होला । अस्ति सरकारलाई भोट किन हालेको होला ।

यो कुरा कसको मनमा छैन अहिले । तीनजना भूतपूर्व प्रधानमन्त्रीहरू त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीनवटा प्रधानमन्त्रीको क्लब जस्तो ।’

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरूले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्तावसमेत राखे ।

 


प्रकाशित मिति : २०७९ पुष ३०, शनिबार १८:१५

धेरै पढिएको

ताजा समाचार