काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।
माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० पर्वको अवसरमा शुभकामना दिँदै उनले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन पनि अपील गरेका छन् ।
नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै उनले यस अवसरमा मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताएका छन् ।
नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पारेका छन् ।
‘भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न–भिन्न भेग र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलन छ,’ प्रधानमन्त्री दाहालले जारी गरेको सन्देशमा भनिएको छ ।
माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा पनि मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् ।
हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आ(आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।