मनोकामना पूरा गर्नका लागि पशुपक्षीको बली दिने प्रचलन त विश्वभर कायम छ। यसलाई सामान्य रुपमा नै लिने गरिएको छ। तर मानव बली, यो त केही सय वर्षपहिले हुन्थ्यो। अहिले मानव बली सुन्दा पनि भयानक लाग्छ।
तर सल्यानमा यस्तै भयानक घटना भएको छ। यहाँ एक जना मामाले आफ्नै सहोदर भान्जाको बली दिएका छन्। मन्दिरभित्र भान्जाको घाँटी काटेर टाउको छिनाई रगत चढाएको पाइएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन्। भिजन पुरीका आफ्नै भान्जा हुन्।
पुरीले आइतबार दिउँसो करिब २ बजेतिर आफ्नै घरको आँगनमा रहेको मन्दिरभित्र लगेर भान्जाको हत्या गरेका हुन्। खुर्पाले बालकको टाउको र शरीर अलग गरेर मन्दिमा रगत चढाएको स्थानीयले बताएका छन्।
घटना भएलगत्तै पुरीका अन्दाजी सात वर्षीय छोराले थाहा पाएको र उनले नै स्थानीयलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए।
घटनालगत्तै स्थानीयले पुरीलाई बाँधेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक बयानमा पुरीले आफूलाई देउता लागेको र देउताको मनोकामना पूरा गर्न बली दिएको बताएका छन्। करिब दुई वर्षदेखि आफ्नो शरीरमा देउता चढेको भन्दै उनी काम्दै आएका थिए। गाउँलेले भने मानसिक सन्तुलन ठीक नभएको बताएको श्रेष्ठले जानकारी दिए।
शरीरमा देउता काम्न थालेको भन्न थालेदेखि पुरी आफ्नो सानो छोराको साथमा परिवारदेखि अलग भएर बस्दै आएका थिए। आइतबार राति मात्र उनलाई जिल्लामा पुर्याइएकाले अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।