काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच सोमबार विहान बालकोटमा झन्डै ६ घन्टा कुराकानी भयो ।
मन्त्रिपरिषद् विस्तारको विषयमा मात्र नभएर यो भेटमा उनीहरुबीच सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका विषयमा पनि कुराकानी भएको थियो ।
यो भेटले सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयलाई टुंगोमा पुर्याएको छ । यस विषयमा लगभग सहमती भए पनि सत्ता साझेदार सातै दल बसेर यसलाई अन्तिम निष्कर्ष दिने तयारी चलेको छ । यसका लागि सोमबार साँझ नै बैठक बोलाइएको छ ।
सोमबार साँझ मन्त्रिपरिषद्को विषयमा टुंगो लगाउन बोलाइएको यो बैठकमा अब हुने दुई महत्वपूर्ण निर्वाचन सभामुख र राष्ट्रपति पदको विषयमा चर्चा हुने बुझिएको छ ।
तर, यो विषयमा यसअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।
यसअघि ३ माघका लागि सर्वदलीय बैठक बोलाएर त्यही बैठकमा यस विषयमा छलफल गर्ने तयारी उनले गरेका छन् ।
सोमबार बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग भएको भेटमा पनि उनले सभामुख तथा राष्ट्रपति निर्वाचनबारे नेपाली कांग्रेससँग पनि छलफल गर्ने बताएका छन् ।
‘यो विषयमा सर्वदलीय बैठकमा कुरा गरौँ, प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएकाले कांग्रेसलाई पनि समेटेर अगाडि बढ्ने कि भन्ने पनि सोचौँ,’ बालकोटमा भएको छलफललाई नजिकबाट बुझेका एक माओवादी केन्द्रका नेताले भने, ‘प्रधानमन्त्रीज्यू, सबैलाई समेटेर राष्ट्रिय सहमतिको सरकारको पक्षमा अगाडि बढ्ने योजनामा हुनुहुन्छ ।’
त्यसो त, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि यसअघि प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सहमतिको आह्वान गर्न सुझाव दिइसकेका छन् ।
अनि डा. भट्टराईले उनको आह्वानलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताएका छन् । अर्कोतिर, नेपाली कांग्रेसमा पनि सभामुखभन्दा राष्ट्रपतिका लागि दाहालसँग प्रस्ताव राख्ने तयारी चलेको छ ।
दाहालले आफूले सभामुख तथा राष्ट्रपतिका लागि कसैसँग पनि कुनै सम्झौता नगरिसकेको बताए पछि यस विषयमा कांग्रेस उत्साहित भएको छ ।