काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई विश्वासको मत दिने दलहरूसँग छलफल गर्ने भएका छन् ।
दाहाल प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीले विश्वासको मत दिएका पार्टीसँग अपराह्न ४ बजे छलफल गर्न लागेका हुन् ।
गत २६ पुसमा प्रधानमन्त्री दाहाललाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
सबैजसो दलबाट विश्वासको मत पाएपछि आफूलाई थप जिम्मेवारी आएको भन्दै दाहालले सभामुखको निर्वाचन प्रक्रियाअघि दलहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रतिनिधिसभाको सभामुख निर्वाचन ५ माघमा हुँदैछ । गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त हुँदा दाहाललाई माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा, नागरिक उन्मुक्ति तथा केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।