काठमाडौं, कर्तव्य ज्यान मुद्दामा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा गृहमन्त्री रवी लामिछाने प्रहरीसँग आक्रोशित भएका छन् ।
उनले आफ्नो मौखिक निर्देशन प्रहरीले पालना नगरेकोमा असन्तुष्टि जनाउँदै लिखित निर्देशन नै दिएका छन् । यो घटनाबाट प्रहरीले गृहमन्त्री लामिछानेलाई नटेरेको पुष्टि भएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिले नै त्यसको खुलासा गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनमा कोइरीलाई तत्कालै पक्राउ गरी कारबाही अगाडी बढाउन भनिएको छ ।
गृहमन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
विज्ञप्ति हेर्दा प्रहरीले गृहमन्त्रीलाई अटेर गरेको र मौखिक आदेश पालना नगरेको स्पष्ट हुन्छ ।
प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षर रहेको विज्ञप्तिमा निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ ।
यसअघि सांसद कोइरी संसद् बैठकमा उपस्थित भइरहँदा पनि पक्राउ नगरेको भन्दै कांग्रेस सांसदले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए ।
लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको प्रतिक्रिया दिएका थिए ।