मधेसका स्वतन्त्र सांसदद्वय साह र जयसवाल जसपामा प्रवेश


काठमाडौ, गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा मधेस प्रदेशको प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित दुईजना सांसद जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

महोत्तरीको क्षेत्र नं २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा–३ (क) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य प्रमोदकुमार जैसवाल आइतबार जसपामा प्रवेश गरेका हुन् ।

जसपाको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रदेशसभा सदस्यद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका छन् । योसँगै मधेस प्रदेशमा जसपाको सांसद संख्या १८ पुगेको छ ।

तेस्रो वरीयतामा रहे पनि यस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री बनिसकेका छन् । उनले प्रदेशसभाबाट विश्वासको मतसमेत पाइसकेका छन् ।

मधेस प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन ।

पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।


प्रकाशित मिति : २०७९ माघ ८, आईतवार १४:४७

धेरै पढिएको

ताजा समाचार