काठमाडौं, नेपाल टि-२० लिगमा फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दुई जना क्रिकेटरलाई आज नियन्त्रणमा लिएको छ ।
नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।
अन्सारीलाई राजविराज र आलमलाई विराटनगरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बारा घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाट आज बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनी त्यहाँ खेलका लागि पुगेका थिए । मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेटमा आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट खेल्न पुगेका बेला प्रहरीले नियन्त्रणमा लियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको सीआइबी स्रोतले बताएको छ । उनी व्यक्तिगत कामले विराटनगर पुगेका बेला प्रहरीले पछ्याएको थियो ।
नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग मिलेर पुषमा गरेको नेपाल टी– २० लिगमा फिक्सिङ गरेको आरोपमा दुवैजना पक्राउ परेका हुन् ।
छानबिनका क्रममा स्पट फिक्सिङका आधार फेला परेपछि अनुसन्धानका लागि दुवैजनालाई नियन्त्रणमा लिइएको सीआइबी स्रोतले जनाएको छ ।
दुवैजनालाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । सीआइबीका एक अधिकारीका अनुसार यही प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्छन् ।
फिक्सिङमा अरु पनि संलग्न रहेको संकेत पाएको र छिट्टै पक्राउ गरेर अनुसन्धान गर्ने उनले बताएका छन् ।
सीआइबीले सेभेन थ्री स्पोर्टसका मालिकको पनि फिक्सिङमा संलग्नता हुन सक्ने आशंका गरेको छ । तर कम्पनीका संचालक अहिले भारत पुगिसकेका छन् ।
स्पट फिक्सिङमा नेपाली र विदेशीसहित १० भन्दा बढिको संलग्नता देखिएको सीआइबी स्रोतले जनाएको छ । ति मध्ये ६ जना विदेशी भने नेपालबाट बाहिरिइसकेका छन् ।