वर्षा र हिमपात लुम्बिनी प्रदेशसम्म आइपुग्यो, काठमाडौंको आकाशलाई बादलले ढाक्यो


काठमाडौं, सुदूरपश्चिमबाट सुरु भएको वर्षा र हिमपात कर्णाली हुँदै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पुगेको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सोमबार रातिदेखि सुदूरपश्चिममा वर्षा र हिमपात भइरहेको छ ।

गएरातिदेखि लुम्बिनी प्रदेशका पश्चिमी जिल्लामा पनि वर्षा हुन थालेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले दिए।

यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको सम्भावना तत्काललाई छैन । काठमाडौंमा यो प्रणालीले वर्षा गराउने सम्भावना कम छ ।

शुक्रबार बेलुकादेखि फेरि अर्को निम्न चापीय प्रणाली भित्रने सम्भावना रहेको र यो पनि पश्चिमी क्षेत्रमा नै बढी सक्रिय हुने देखिएको मौसमविद् समिर श्रेष्ठले बताए ।


प्रकाशित मिति : २०७९ माघ ११, बुधबार ०८:११

धेरै पढिएको

ताजा समाचार