गृहमन्त्री लामिछानेको नागरिकता विवादमा निर्णय आज आउन सक्ने


काठमाडौं, नागरिकता विवाद विचाराधीन रहेकै अवस्थामा गृहमन्त्री बनेका रवी लामिछानेको नागरिकता पुनः प्राप्तिको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाइ गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ।

पार्टीको संसदीय दलको नेतासमेत रहेका लामिछाने मन्त्री बनेपछि उनको नागरिकतामाथि हुने अनुसन्धान प्रभावित भइसकेपपनि उनी सांसद र मन्त्री बन्न पाउने नपाउने विषयमा निर्णय हुने भएको हो।

अमेरिकी नागरिकता नत्यागी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोप लामिछानेलाई छ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरूले बाँकी बहस गर्नेछन्। त्यसपछि रिट निवेदकहरूले जवाफी बहस गर्न पालो पाउनेछन्।

आज दिउँसो नै बहस सकिने भएकाले संक्षिप्त आदेशसहित निर्णय आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतको भनाइ छ। यदि आज पनि निर्णय नभए सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्नेछ छ।

अहिलेसम्म उठेका सवाल र बहस हेर्दा लामिछानेको नागरिकता पुनः प्राप्तिको विवादमा केही प्रश्नहरू महत्त्वका साथ उठेको देखिन्छ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ९१० मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः कायम नरहने उल्लेख छ।

नेपाल नागरिकता नियमावली, २०६३ ले विदेशी नागरिकता लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालका निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।

गृह मन्त्रालयले सर्वोच्च अदालतमा पठाएको जवाफमा कुनै पनि नागरिकले विदेशी नागरिकता लिएमा स्वतः राज्यका निकायलाई जानकारी नहुने र जानकारी भएपछि मात्रै नागरिकता बदर हुने जिकिर गरेका छन्।

त्यसको प्रतिवादमा रिट निवेदकहरूले बहस नोट पेस गर्दै नागरिकता ऐन, २०६३ को दफा (१०) अनुसार, ‘कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम रहने छैन’ भन्ने प्रावधान वारे ध्यानाकर्षण गराएका छन्।

सर्वोच्च अदालतले यो सवाललाई सम्बोधन गर्नुपछि मात्रै आफ्नो निष्कर्ष दिन सहज हुने देखिन्छ।

सर्वोच्च अदालत पुगेका निवेदक कानून व्यवसायीहरूको दाबीमा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता ‘कायम नरहने’ भएकाले लामिछानेले ५० सालमा लिएको नेपाली नागरिकताको कुनै अस्तित्व छैन ।

उनीहरूले विदेशी नागरिकता लिनुलाई नेपाली नागरिकता त्यागे बराबर हुने दाबी गरेका छन् ।


प्रकाशित मिति : २०७९ माघ १३, शुक्रबार ०८:१३

धेरै पढिएको

ताजा समाचार