हिरासतबाट थुनुवा भागेपछि तीन जना प्रहरी निलम्बनमा, भागेकाभध्ये एक पक्राउ


धनुषा, थुनुवा हिरासतबाट फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्। हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन्।

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीनजना प्रहरीलाई निलम्बन गरिएको र छानबिन समिति बनाइएको हो।

पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान इलाका प्रहरी कार्यालयको पर्खालबाट ६ जना थुनुवा पर्खाल नाघेर भागेका थिए ।

उनीहरूमध्ये फरार हातहतियार मुद्दाका आरोपित मिथिला नगरपालिका –६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताए ।


प्रकाशित मिति : २०७९ माघ १७, मंगलवार १२:०७

धेरै पढिएको

ताजा समाचार