माओबादी निकट अखिलको निर्वाचित कार्यसमिति खारेज, आयोजक समिति निर्माण गरिने


काठमाडौ, नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको निर्वाचित कार्यसमिति खारेज गरेको छ।

माघ १२ देखि २२ सम्म बसेको स्थायी समिति बैठकले पञ्चा सिंह नेतृत्वको अनेरास्ववियू खारेज गर्दै आयोजक कमिटी बनाउने निर्णय गरिएको हो।

अखिल क्रान्तिकारीको नयाँ कमिटीका लागि स्ववियू निर्वाचनपछि राष्ट्रिय सम्मेलन गर्ने पार्टीले निर्णय गरेको छ।

आयोजक कमिटी गठनसँगै सिंह नेतृतवको कमिटी औपचारिक विघटन भएको छ।

‘विद्यार्थी मोर्चामा देखिएका समस्याहरुलाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने’, पार्टी निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्रमा भनिएको छ, ‘स्ववियू चुनाव पछाडी राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र गतिविधि गर्न नपाउने।’

सिंह २०७८ असोज १७ गते अखिल क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएकी थिइन्।

सिंहलाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट पवन कार्कीले समानान्तर समिति चलाउँदै आएका थिए। उनले गत १८ असारमा नयाँ कमिटी घोषणा गरेका थिए।

स्थायी समिति बैठकले सो समानान्तर समिति पनि खारेज गरिदिएको छ।

विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्न यसअघि ३ सदस्यीय समिति बनेको थियो।

स‌गंठनका पूर्व अध्यक्ष रमेश मल्ल, केन्द्रीय सदस्य एवम पूर्व अध्यक्षद्वय रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वमा तीन सदस्यीय विवाद समाधान कमिटी गठन गरिएको थियो।

सो समितिले विवाद समाधानको उपाय खोजी गर्दै नेतृत्वलाई प्रतिवेदनसमेत बुझाएको थियो।


प्रकाशित मिति : २०७९ माघ २६, बिहीबार १३:२८

धेरै पढिएको

ताजा समाचार