काठमाडौँ, नेपाल नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ ।
आर्थिक समस्यामा फसेको कम्पनीले कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।
‘लामो समयदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको भन्ने जानकारीका आधारमा गुण एयरलाइन्समाथि अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएका छौं ।
यस्तो संवेदनशील विषय, एयरलाइन्सको उडान सुरक्षासँग जोडिने हुँदा एयरलाइन्समाथि प्रतिबन्ध लगाएका हौं’ नागरिक उड्यान प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीसँग बताए ।
एयरलाइन्सले सबै कर्मचारीलाई तलब, सेवा सुविधा प्रदान गरेको यकिन पत्र प्राधिकरणमा पेश नगरेसम्म उडान प्रतिबन्ध नखुलाउने समेत निरौलाले जानकारी दिए ।
कम्पनीले सबै कर्मचारीको बक्यौता तलब भुक्तान गरेको र थप तलब सुविधा प्रदान गर्न समस्या नभएको पत्र पठाएपछि प्राधिकरणले अनुगमन गरेर एयरलाइन्स माथिको प्रतिबन्ध हटाउने समेत उनले बताए ।