कांग्रेस सभापति देउवापछि माधव नेपालसँग प्रधानमन्त्री दाहालको छलफल


काठमाडौं, आगामी राष्ट्रपतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहानैदेखि नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री दाहालले दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । दाहाल र नेपालबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब आधा घण्टा कुराकानी भएको छ ।

भेटपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै दाहालले राष्ट्रपति उम्मेदवारको अझै टुङ्गो नलागेको जनाए । उनले नयाँ गठबन्धन बन्नेबारे पनि अझै एकीन नभएको बताए । भेटमा माओवादी उपा्ध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

उपाध्यक्ष श्रेष्ठले नयाँ गठबन्धन बनाउनेबारे निष्कर्षमा नपुगेको दाबी गरे । उनले अन्य दलसँग पनि छलफल गर्ने बताए ।

त्यसअघि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

नेकपा एमालेसँग राष्ट्रिपतिका विषयमा कुरा नमिलेपछि प्रधानमन्त्री दाहालले कांग्रेस लगायतका दलसँग छलफल तिव्र पारेका हुन् ।

यी दलबीच पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने कसरत भैरहेको बताइएको छ । राष्ट्रपतिको उम्मेदवारी दर्ता पर्सी १३ गतेका लागि तोकिएको छ ।

त्यसअघि नै उम्मेदवार टुङ्गो लगाउने प्रयास भइरहेको छ ।


प्रकाशित मिति : २०७९ फाल्गुन ११, बिहीबार १३:३५

धेरै पढिएको

ताजा समाचार