आठ दलीय गठबन्धन छैन, हाम्रो उम्मेदवार दाउपेचको होइन : अध्यक्ष ओली


काठमाडौ, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन्।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवाष नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीर समेत गरे।

‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानूनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएका, संविधान निर्माणका संविधानसभा अध्यक्षको हैसियतले महत्वपूर्ण भूमिका पूरा गर्नु भएका सफल राजनीतिज्ञको रुपमा परिचित माननीय सुवाषचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं,’ ओलीले भने, ‘विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं ।

र, उम्मेदवार दर्ताको निस्सा पनि हामीले बुझाएका छौं। मैले विश्वास लिएको छु पार्टीको तर्फबाट–हामीले आफ्नो दलीय स्वार्थ होइन् राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको हितका लागि, जनताको हितको लागि, संविधानको रक्षा, कार्यान्वयन, सही सफल कार्यान्वयनका लागि, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि यो उम्मेदवारी उठाएक हौं।’

सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले बताए।

उनले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताए।

‘हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै होइन। स्वागतको विषय बन्नेछ । र, हरेकले, हरेक मतदाताले र मतदाताका निम्ति मतदानका निम्ति प्रेरित गर्ने मिडिया, सामाजिक सञ्जाल सबैतिरबाट पनि हामीले साथ, सहयोग प्राप्त गर्नेछौं’, उनले भने, ‘सिंगै नेपाली जनताको साथ, सहयोग हामीलाई हुनेछ।

र, अत्याधिक मतका साथ हामीले विजय हासिल गर्नेछौं भन्ने मैले विश्वास लिएको छु। किनभने यसमा हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेचको उम्मेवार होइन।’

अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताए।

‘एक त यो वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यस विषयमा टुंगो लागिसकेको थियो। त्यसो भएर यसमा सहमत सबै पक्ष यसमा सबै पक्ष प्रतिवद्ध भएर लाग्नु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।

आफ्ना प्रतिवद्धताबाट, आफ्ना बचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरुबाट कोही पनि पछि हटने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ’, ओलीले भने, ‘कुनै चिजको पनि एक सर्कल पूरा नगरीकन एउटा जुन प्रतिवद्धता छ, जुन सहमती छ।

र, जुन सम्झौता हामीले गरेका छौं। त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन। गठबन्धनको कुनै निर्णय छैन। आठ दलीय गठबन्धन पनि छैन। गठबन्धनका निर्णय पनि छैन।’

शुक्रबार बेलुकी प्रधानमन्त्री कार्यालयमा बोलाइएका दलका साथीहरु आफूहरुको सम्पर्कमा रहेको उनले दाबी गरे।

‘हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दला साथीहरुलाई बोलाइएको थियो। उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ। कुराकानी भईराखेको छ।

हामीलाई पनि बोलाइएको थियो। गएका हौं,’ ओलीले भने, ‘कांग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नु भयो। कसरी भन्नु भयोरु त्यो उहाँको कुरा हो।

अरुको त्यस्तो कुरा केही छैन। सत्तारुढ गठबन्धन कहीँ बिग्रेको छैन।’

 


प्रकाशित मिति : २०७९ फाल्गुन १३, शनिबार १६:०२

धेरै पढिएको

ताजा समाचार