उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिनुभएकाे छ ।
नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुग्नुभएका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिनुभएकाे हाे । उहाँले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचरण देखाउन निर्देशन दिनु भएकाे छ ।
‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भन्नुभयाे, ‘प्रहरीको सरुवा बढुवा कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’
कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताउनु भएकाे प्रवक्ता राईले जानकारी दिनुभयाे ।
कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुग्नुभएकाे हाे ।