कैलालीमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, २८ जना घाइते


कैलाली, कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दगोरिया गाउँपालिका–६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार २८ जना घाइते भएका छन् । उनीहरूको बर्दगोरीया अस्पताल र घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजी गरिरहेको छ ।


प्रकाशित मिति : २०७९ चैत्र ७, मंगलवार ०७:५८

धेरै पढिएको

ताजा समाचार