कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै


काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान १० बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने बैठकले बारा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ।

यसअघि यही चैत १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गरिसकेको छ।

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सभापति लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपचुनाव गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पद पूर्ति गरिँदै छ।


प्रकाशित मिति : २०७९ चैत्र १९, आईतवार ०७:५१

धेरै पढिएको

ताजा समाचार