रबीको राहादानी दुरुपयोगको मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ


काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ आज हुँदैछ ।

सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आजका लागि पेसी तोकिएको हो । लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन् । आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो ।

लामिछानेले अमेरिका र नेपालको दोहोरो राहदानी एकसाथ प्रयोग गरी राहदानी दुरुपयोग गरेको भन्दै अधिवक्ता पौडेलले नै गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

उक्त उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौं पुगेको थियो । सोही उजुरीका आधारमा प्रहरीले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको प्रकरणमा अनुसन्धान गरेको थियो ।

अनुसन्धान सकेर प्रहरीले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको रायमा सहमति जनाउँदै सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पछि उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत १३ माघमा खारेज भइसकेको नागरिकता प्रयोग गरेर चुनाव लडेको भन्दै अदालतले उनको सांसद पद नै बदर गरिदिएको थियो ।

सोही रिक्त पदमा १० वैशाखमा उपनिर्वाचन हुँदैछ । रविले उपनिर्वाचनका लागि सोमबार उम्मदेवारी दर्ता गरेका छन् ।


प्रकाशित मिति : २०७९ चैत्र २१, मंगलवार ०७:५३

धेरै पढिएको

ताजा समाचार