काठमाडौ, आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिने आयोगको तयारी छ ।
आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरूपमा सुरु हुनेछ । तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
गत ४ मंसिरको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यी क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
त्यस्तै, चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएपछि यहाँ पनि उपनिर्वाचन गर्न लागिएको हो ।