काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रम पहिलेभन्दा परिमार्जित, व्यावहारिक र कार्यान्वयन गर्न सकिनेखालको भएको बताएका छन् ।
बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपछि सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
साझा कार्यक्रम पहिलेको भन्दा विकसित र परिमार्जित भएर ल्याइएको उनले प्रष्ट पारे । उनले यसअघिको गठबन्धनले बनाएको साझा कार्यक्रमभन्दा पनि परिमार्जित रुपमा अहिले कार्यक्रम ल्याइएको बताए ।
यो कार्यक्रम राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम पनि हो उनले बताए । प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई वैज्ञानिक, व्यावहारिक र कार्यान्वयन गर्न सकिने खालको रहेको प्रतिक्रिया विज्ञहरुले पनि दिएको उनले जानकारी गराए ।
साझा कार्यक्रमलाई कार्ययोजनाका साथ कार्यान्वयन गर्न सके देशको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले सरकारले ल्याएको साझा कार्यक्रम कार्यान्वयनमा जिम्मेवारीपूर्वक लाग्न आफू मातहतका निकायलाई निर्देशन दिए ।
नयाँ प्रतिबद्धताको खाँचो रहेकाबेला अहिले साझा कार्यक्रममा साझा प्रतिबद्धतासाथ आएको उनले बताए । कार्यान्वयनलाई सबैले आफ्नो जिम्मेवारी मानेर पूरा गर्नमा ध्यान दिन उनले आग्रह गरे ।