काठमाडौँ, नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ ।
नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो ।
यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु(याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक
कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिए ।
उनका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ ।
वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पु(याइसक्ने केन्द्रको दाबी छ । यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ ।
जसका लागि एक करोड ५० लाखथान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । उनले छाप्नुपर्नेमध्ये एक करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको दाबी गरे ।
उनले बाँकी १० लाखथान पाठ्यपुस्तकको छपाइ चैत मसान्तसम्म सकिने बताए । कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा भने निजी मुद्रण संस्थालाई दिइएको छ र उनीहरूले एक करोड २० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यस पटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक हातमा पार्ने गरी काम अघि बढेको बताए ।
उनले भने “अपवादबाहेक आउने शैक्षिक सत्रमा विद्यार्थीले भर्ना हुनेबित्तिकै पुस्तक पाउने छन् । तर, पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुन सक्छ ।
यस्तो अवस्थालाई पुस्तक अभाव भयो भन्न मिल्दैन ।”
केन्द्रका प्रबन्ध सञ्चालक झाले २४सै घण्टा प्रेस सञ्चालन गरेर भएपनि समयमै पाठ्यपुस्तक पु(याउने लक्ष्यअनुसार काम भइरहेको र अब एक हप्तामा सबै पाठ्यपुस्तक छपाइ पूरा हुने जानकारी दिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा स्थानीय तहमा रकम निकासा गरिसकेको छ ।
विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको थियो । यस पटक पनि सोही अवस्था दोहोरिन नदिन सरकारले पुस्तक छपाइको निरन्तर अनुगमन गरिरहेको छ ।
केन्द्रले पनि पुस्तक छपाइको विषयमा मन्त्रालयलाई निरन्तर जानकारी गराइरहेको छ ।