काठमाडौंको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर सामाखुसी यातायातले थप्यो १० वटा नयाँ बस


काठमाडौं, सामाखुसी यातायात प्रालिले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ ।

सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो ।

२०५७ मा काठमाडौंका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा ल्याएको प्रालिले शनिबारबाट थप बस सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रालिका अध्यक्ष प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको जानकारी दिए । उनले यात्रुमैत्री बन्न चालक र सहचालकलाई आग्रह गरे ।

सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले अहिले ८० माइक्रोबस तथा ३१ ठूला बसमार्फत यात्रुलाई सेवा प्रदान गर्दै आएको छ ।

बसले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदैआएको प्रालिका आर्थिक व्यवस्थापक दिपेन्द्र केसीले जानकारी दिए ।

कम्पनीले अहिले ३ सय चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।

 

 


प्रकाशित मिति : २०७९ चैत्र २६, आईतवार ११:५८

धेरै पढिएको

ताजा समाचार