बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्‍यो : प्रमुख शाह


काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन्द्र) ले वाध्य भएर सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरिएको स्पष्ट पारेका छन् ।

उनले सरकारसमक्ष महानगरले गरेको आग्रहलाई पटकपटक वेवास्ता गरेकाले आफूहरूले यो कदम उठाउनु परेको बताएका हुन् ।

केही दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपर्‍यो । त्यो लहडमा अनायसै गरिएको निर्णय थिएन, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष थियो ।

जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको थियो । उनीहरूलाई यसबारेमा जानकारी हुने भइहाल्यो तर सर्वसाधारणलाई यो बारेमा थाहा भएन ।

मिडिया र सर्वसाधारणबाट यो सम्बन्धी धेरै प्रश्नहरू उठेका छन्, प्रश्नहरू स्वाभाविक पनि छन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सिंहदरबारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेको अनुभूति भइरहेको पनि उल्लेख गरेका छन् ।

‘सिंहदरबार काठमाडौं महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ ।

यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ ।

संघीय सरकारकारूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्नँ,’ मेयर शाहले लेखेका छन्, ‘पटकपटकको कोसिसपछि ९ महिनामा पटकपटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’


प्रकाशित मिति : २०७९ चैत्र २७, सोमबार ०९:२३

धेरै पढिएको

ताजा समाचार