सरकारले पूर्णता पाएपछि काममा तीव्रता आउँछ : गृहमन्त्री श्रेष्ठ


चितवन, गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताएका छन् ।

प्रेस सेन्टरले सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले विशेष अवस्थाबाट आउनु परेकाले यो सरकारले जनअपेक्षा अनुसार छिटो काम गर्न नसकेको स्वीकार गरे ।

उनले भने , हामीले छिटो काम गर्न सकेका छैनौँ त्यो स्विकार्छौ त्यसको पछाडि विशेष अवस्था थियो । पहिला एमालेसहितको समर्थनमा हामी सरकारमा गएका थियौ । त्यो अवस्था टिकीरहन सकेन । अहिले नयाँ परिस्थितिमा आएका छौ अब सबै विषयले गति लिँदै छ ।

दुई दिन भित्र सबै मन्त्रालयले नेतृत्व पाउने छ । त्यसपछि सरकारले तीव्र गतिमा काम गर्नेछ । जनताले चाहे अनुसारको काम सरकारले गर्नेछ गृहमन्त्री श्रेष्ठले भने ।

नारायणगढ बुटवल सडकको प्रगतिका विषयमा निरीक्षणका लागि आउनुभएका मन्त्री श्रेष्ठले सडक निर्माणका विषयमा देखिएका कमजोरीलाई सच्याएर छिटो प्रगति आउने गरी काम गर्न हामी निर्देशन दिनेछौँ ।

निर्देशन मात्र होइन सरकारले विकासका कामलाई ढिला सुस्ती गर्ने उपर कानुन बमोजिम कारबाही गर्नेछ ।

पत्रकारले सोधेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले सङ्घीय सरकार प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारले सहयोग गरेन भन्ने भनाई प्रति धारणा राख्दै उनले कामको औचित्यका विषयमा स्थानीय सरकारले प्रष्ट पारेमा सहयोग नगर्ने भन्ने नहुने बताए ।

लहडका भरमा औचित्य पुष्टि नहुने गरी कुनै काम गरेमा सङ्घीय सरकारले सहयोग गर्न नसक्ने बताए ।


प्रकाशित मिति : २०७९ चैत्र २७, सोमबार ११:४७

धेरै पढिएको

ताजा समाचार