ढाकाकुमारबारे आवश्यक निर्णय लिन रास्वपाले बोलायो बैठक


काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेपबारे छलफल हुनेछ ।

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ ।

अडियो सार्वजनिकलगत्तै स्पष्टीकरण सोधिएकोमा श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिए ।

उनले स्पष्टीकरणमा आफूलाई जोडेर आएको अडियो नक्कली भएको उल्लेख गरेका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू स्वास्थ्य मन्त्री हुन लागेकाले २ करोड सहयोग गर्न आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

उनले अडियोमा पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन् । उनले सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको ‘कोर टिम’ ले रकम मागेको पनि बताएका छन् ।

‘स्वास्थ्य हामीले पाउने भयो । पार्टीले सहयोग गर भन्यो । कोर टिम छ दुईरतीन जनाको । उनीहरूले भनिरहेका छन् । मलाई साढे २ जति चाहियो भन्दै थिए हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज मैले फिक्स गर्नु छ,’ प्रसाईंसँगको अडियो संवादमा श्रेष्ठले भनेका छन् ।

अडियो बाहिरिएसँगै श्रेष्ठको सांसद पद धरापमा परेको छ । उनीसँग जोडिएर थप अडियोसमेत सार्वजनिक भइरहेकाले श्रेष्ठको सांसद पद धरापमा परेको हो ।
यसअघि नै सभापति रवि लामिछानेले दोषीलाई उन्मुक्ति नदिने बताइसकेका छन् । श्रेष्ठ समानुपातिकतर्फका सांसद हुन् ।


प्रकाशित मिति : २०७९ चैत्र २८, मंगलवार ०८:३६

धेरै पढिएको

ताजा समाचार