बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको एक प्रतिवेदनले जनाएको छ।
हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वाथ्य विज्ञान प्रतिष्ठानहरूको राष्ट्रिय रूपमा संयुक्त वार्षिक समीक्षा बैठक २०७८र०७९ को प्रतिवेदनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट रहेको जनाएको हो।नेपाल सरकार अन्तर्गतका ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको प्रगति विवरणको तुलनात्मक अध्ययन गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञानमा सबैभन्दा बढी उपचारका लागि बिरामी आउने गरेको देखिन्छ।
प्रतिवेदनअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षमा ४ लाख ८१ हजार ५१४ जना बिरामीहरूलाई ओपिडीबाट उपचार सेवा प्रदान गरेको छ।
त्यसैगरी, इमर्जेन्सी सेवा एवम् भर्ना भई उपचार पाएका बिरामीको संख्या पनि अन्य प्रतिष्ठानभन्दा बढी रहेको छ। इमर्जेन्सीतर्फ ६९ हजार ६८१ जना बिरामीहरूको उपचार गरिएको थियो भने ४२ हजार ९४८ जना बिरामीहरूले वार्डमा भर्ना भई उपचार गराएका थिए। प्रतिष्ठानले बिरामीको बढ्दो चापलाई मध्यनजर गरी इमर्जेन्सी सेवामा विस्तार गरेको थियो।
प्रतिष्ठानमा उपचारार्थ आउने बिरामीहरूको मृत्यूदर १।३ प्रतिशत रहेको छ जुन अन्य प्रतिष्ठानभन्दा कम रहेको तथ्यांकबाट देखिन्छ।
त्यसैगरी, शैक्षिक कार्यक्रमतर्फ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी ९ वटा शैक्षिक कार्यक्रमहरू संचालनमा रहेका छन्।
साभार देशसञ्चार