एमाले संसद विघटनको दाउमा छ : अध्यक्ष नेपाल


इनरुवा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका हुन् ।

अध्यक्ष नेपालले एमालेको त्यो सोचलाई आफूहरूले पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए ।

उनले भने , ‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ ।

मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’

एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भने एकताको सम्भावना नरहेको बताए ।

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए ।

उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको बताए ।


प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार १२:४६

धेरै पढिएको

ताजा समाचार