विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल


काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनुपर्ने बताएका हुन् ।

उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।

प्रधानमन्त्री दाहालले भने , “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।”

उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो ।

हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौती छ । अर्थतन्त्रमा परेको अप्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो ।

यसमा म आएपछि सुधार भइरहेको छ ।” नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनाउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताए ।

निजी क्षेत्रका समस्या समाधानको पहल भएको जनाउँदै उनले देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम रहेको बताए ।

आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै उनले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पूरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

“व्यापार घाटा कम गर्न ट्रान्जिट पोलिसीका विषयमा, हवाई रुटका बारेमा छिमेकी देशसँग मिलेर अगाडि बढ्ने छौँ”, उनले भने ।

रासस


प्रकाशित मिति : २०८० बैशाख २, शनिबार ११:५३

धेरै पढिएको

ताजा समाचार