मौलाकाली केबुलकार १८ वैशाखदेखि सञ्चालनमा आउने, उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने


नवलपुर, मौलाकाली केबुलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबुलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केबुलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केबुलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबुलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैँडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबुलकारमा १२ वटा गोन्डोला रहेका छन् ।

केबुलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबुलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरूलाई सहज हुनेछ ।

केबुलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्याङ्क्वेट हल र रेस्टुरन्ट सञ्चालनमा रहनेछन् ।

केबुलकार सञ्चालन भएपनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबुलकार प्रालिले जनाएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने बताइएको उक्त परियोजनामा २ अर्बभन्दा बढी लगानी रहेको छ ।

आईएमई ग्रुपको मुख्य लगानीमा काठमाडौंको चन्द्रागिरिमा केबुलकार निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबुलकार प्रालिद्वारा प्रवर्द्धित अर्को केबुलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ ।

उक्त केबुलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।


प्रकाशित मिति : २०८० बैशाख ११, सोमबार ०८:५८

धेरै पढिएको

ताजा समाचार