उपनिर्वाचनमा ठूला दलप्रति जनताको चासो देखिएन : सभापति देउवा


काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने बताएका हुन् ।

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठकमा सभापति देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए ।

सभापति देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको सांसद खतिवडाले जानकारी दिए ।

बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने रु पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको सांसद खतिवडाले बताए ।

सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा सडक कालोपत्रे गर्ने, व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए ।


प्रकाशित मिति : २०८० बैशाख ११, सोमबार १५:४५

धेरै पढिएको

ताजा समाचार