काठमाडौं, तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी भएका छन्।
वाग्लेले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतान्तरले पराजित गरे । वाग्लेले ३४ हजार ४ सय ८० मत पाए । निकटतम प्रतिद्वन्दी भट्टराईले २० हजार ९२ मत ल्याए ।
नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्रै पाएर तेस्रो स्थानमा रहे । वाग्ले हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।
तनहुँ- १ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। गत मंसिर ४ गतेको आमनिर्वाचनमा तनहुँ-१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए।
उनी राष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो। त्यसबेला पौडेलले २५ हजार ३ सय ६१ र एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए ।