काठमाडौ, प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन् । झन्डै ७० हजार मत गन्दा उनले ५० हजार २९ भोट प्राप्त गरेका हुन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् । उनीभन्दा लामिछाने ४० हजार ८६४ मतले अगाडि छन् ।
जित पक्का गरेका लामिछाने यसपटक ४ मंसिरको निर्वाचनभन्दा बढी मतान्तरले विजयी हुने निश्चित छ । सो निर्वाचनमा उनी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले हराउँदै विजयी भएका थिए ।
गत ४ मंसिरको चुनावमा लामिछानेले ४९ हजार २६१ मत ल्याएका थिए । उनले यसपटक कम मत खसे पनि अघिल्लोभन्दा बढी मत ल्याइसकेका छन् ।
कांग्रेसका उम्मेदवारले यसपटक ४ मंसिरको चुनावमा पाएको जति भोट ल्याउने सम्भावना पनि कम छ । गत निर्वाचनमा कांग्रेसका श्रेष्ठले १५ हजार ९१ मत प्राप्त गरेका थिए ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन–२ को उपनिर्वाचनमा ७८ हजार २७७ मत अर्थात् ६२.७७ मत खसेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा त्यहाँ ६७.६३ प्रतिशत मत खसेको थियो ।