बुटवल, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्।
नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनको लागि वैशाख १४ गते बिहीवार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न उनले आह्वान गरेका हुन्।
संविधानको सो धारा र उपधारामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।
मुख्यमन्त्री लिला गिरि प्रदेशसभाबाट विश्वासको मत नपाएपछि सोमबार पदमुक्त भएका थिए।
नेकपा (एमाले) का नेतासमेत रहेका गिरिले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ। आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो।
गिरिको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।
पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरिले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।