गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डे माओवादी केन्द्रसँगै स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको थियो । यसअघि एमालेका खगराज अधिकारीको नेतृत्वमा बनेको सरकार गत वैशाख ९ गते ढलेको थियो ।

आफूलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार शनिवार विश्वासको मत लिएका अधिकारी मत नपाएसँगै स्वत: पदमुक्त भएका हुन् ।

त्यसपछि गठबन्धनले सरकार गठनको प्रक्रिया अगाडि बढाएको हो । यसअघि त्यहाँ उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो ।


प्रकाशित मिति : २०८० बैशाख १५, शुक्रबार ०६:४८

धेरै पढिएको

ताजा समाचार