लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त


घोराही, लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि आठ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रवार दिउँसो साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई कांग्रेससहित माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थन रहेको छ ।

गत पुस २७ मा नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा नियुक्त भएका लीला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत गुमाएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन भएको हो ।

लुम्विनी प्रदेशका प्रदेश प्रमुख शेरचनले संविधानको व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि मंगलवार दलहरुलाई आह्वान गरेका थिए ।

सांसद चौधरी यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा पर्यटन, ग्रामीण तथा शहरी बिकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।


प्रकाशित मिति : २०८० बैशाख १५, शुक्रबार ०६:५४

धेरै पढिएको

ताजा समाचार