कांग्रेस पार्टी डराएर १० सिटे पार्टीको नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाउने ठाउँमा पुग्यो : महामन्त्री थापा


काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले कांग्रेस पार्टी डराएर १० सिटे पार्टीको नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाउने ठाउँमा पुगेको पनि बताएका छन् ।

‘सरकारमा टिक्नका लागि, जम्मा १० वटामात्र सिट जितेको पार्टीलाई, नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर, थापेर, टाउकोमा राखेर बुइ चढाएर अनि त्यसपछि कांग्रेस अन्तिम पटक एक ढेड वर्ष प्रधानमन्त्री बन्ने किन ? ,’ उनले कारण खुलाउँदै भने, ‘किनभने हामीले अहिले मिलेर बनाएनौं भने उनीहरुले अर्कोसँग मिलेर सरकार बनाउँछन्।

हामी डराएका छौं। बाहिर जानुपर्ला कि भनेर डराएका छौं।’ शनिबार नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा रहँदा कांग्रेसले शर्त राख्नुपर्ने बताए।

अहिले नेकपा माओवादी केन्द्रसँग गठबन्धन रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो पनि रहने नरहने निश्चित नभएको बताए।

‘चुनाव अघि तालमेल गर्दैनौं, तर चुनावपछि बहुमत नआउँदा कोही न कोहीसँग गठबन्धन गरेर सरकार बनाउनुपर्ने हुन्छ। हामी अहिले माओवादीसँग गठबन्धनमा छौं।

भोलि यो रहला नरहला,’ थापाले अघि भने, ‘चुनाव पछि बहुमत नहुँदा गठबन्धन रहने भत्कने भइरहन्छन्। तर कांग्रेसको शर्त हुनुपर्यो।’

उनले सरकारबाट बाहिरिनुपर्ला कि भनेर आफ्नो पार्टी डराएको टिप्पणी गरेका छन्। ‘नेपाली कांग्रेसले विधिको शासनमा सम्झौता गरेर सरकारमा जाँदैन, सरकार छाड्नु परे छाड्छ भनेर कांग्रेसले लेख्नुपर्यो,’ थापाले भने।

उनको विधिको शासनमा सम्झौता गरेर कांग्रेस सरकारमा बस्न नहुने तर्क गरे।

 


प्रकाशित मिति : २०८० असार १६, शनिबार १४:४५

धेरै पढिएको

ताजा समाचार