दाहाललाई विश्वासको मत दिने बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मतभेद


काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंगलबार संसदमा विश्वासको मत लिँदै छन् ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन छ ।

दाहालले विश्वासको मत लिने समय आउनै लाग्दा उनलाई समर्थन गरेका केही दलमा यस विषयमा चर्को बहस भइरहेको छ ।

विशेषगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा मा दाहाललाई विश्वासको मत दिनेरनदिने विषयमा सहमति जुट्न सकेको छैन ।

रास्वपामा यो विषयलाई लिएर अहिले दुई खेमा देखिएको छ । उसका ९ सांसद दाहाललाई कुनै पनि हालतमा विश्वासको मत दिनु हुँदैन भन्ने अडानमा छन् ।

‘तत्काल हामीलाई जनताले प्रतिपक्षमा बस्नका लागि मत दिएका थिए । तर, त्यसो हुन सकेन । सबैको चाहना नहुँदा पनि पार्टीका केही सांसदले प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरे ।

समर्थन मात्र नभएर पछि सरकारमै सहभागी भएर हामीले गल्ती महसुस गरेका छौँ । २६ पुसमा हामीले दाहाललाई विश्वासको मत दिनु हुँदैन,’ रास्वपाका एक सांसदले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ११ सांसद भने दाहाललाई विश्वासको मत दिन इच्छुक छन् । सरकारमा जाने निर्णय गरिसकेकाले अब फर्किन नहुने उनीहरूको भनाइ छ ।

दाहाललाई विश्वासको मत दिने विषयमा रास्वपाको संसदीय दलको बैठकमा पनि व्यापक छलफल भएको छ । रास्वपाको तर्फबाट अहिले सरकारमा पार्टी सभापति एवं सांसद रवि लामिछाने छन् ।

उनले ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएका थिए । विश्वासको मत लिएर मात्र बाँकी मन्त्रीको टुंगो लगाउने तयारीमा रहेका दाहालले अहिले आठ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।


प्रकाशित मिति : २०७९ पुष २२, शुक्रबार ०६:३८

धेरै पढिएको

ताजा समाचार